पर्साको ग्रामीण भेगका युवाहरूमा लागू औषध दुव्र्यसनी तथा विकृति बढेको छ ।

यस क्षेत्रका अधिकांश युवाले जाँड–रक्सी, चुरोट, गुटखा सेवन गर्ने गरेका छन् । कतिपय युवा गाँजा, चरेस, नशाका ट्याब्लेट, इन्जेक्सनलगायत लागू औषध सेवन गर्दै आएकोले विकृति बढेको छ । नशालु पदार्थ सेवन गरेपछि कतिपय युवाले चेतना नै गुमाउने गरेको तथा अनेकौं अनैतिक तथा आपराधिक क्रियाकलाप भइरहेको प्रहरीको अनुभव छ ।

माघ २६ गते बिहीवार राति जीराभवानी गाउँपालिका–३  नौकाटोला बजारमा १०–१५ वर्षका केही नाबालकले पसलको ढोका फोडी चोरी गर्न खोज्दा पक्राउ परेका थिए । उनीहरूले लागू औषध सेवन गरेको स्थानीयको भनाइ छ । लागू औषध सेवन गर्नेमा माध्यमिक विद्यालयका विद्यार्यीसमेत रहेका स्थानीयको भनाइ छ ।

लागू औषध सेवन गरी सवारी चलाउँदा दुर्घटना हुने, झैंझगडा, मारपिट तथा चोरीका घटनामा अहिले निकै वृद्धि भएको छ ।

ठोरी गापा–५ सुवर्णपुरका रामबहादुर पाख्रीनले युवाहरूमा लागू औषध दुव्र्यसन हदैसम्म बढेको बताए । यस्ता विकृति शहरबाट अहिले गाउँमा पसेको पाख्रीनको अवलोकन छ । यसलाई न्यूनीकरण गर्न स्थानीय सरकारले कुनै किसिमको कार्यक्रम नल्याएको पाख्रीन आरोप लगाउँछन् ।

युवाहरूमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न ताल भन्ने संस्थामा अपील गरेको तर हालसम्म कुनैको सूचना नआएको पाख्रीनले बताए ।

जिल्लाको सबैजसो स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालनका लागि लाखौं बजेट विनियोजन गरिन्छ तर त्यो कागजमा मात्र सीमित रहने गरेको स्थानीयको आरोप छ । कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरूको मिलेमतोमा नजीकको सामाजिक संस्थालाई कार्यक्रम सञ्चालन गर्न दिने गरेको समाचार स्रोतले जनाएको छ । जसका कारण कार्यक्रम अप्रभावी हुने गर्छ ।

पर्साका सामाजिक अभियन्ता प्रकाश थारूले बालबालिकाहरू यस्ता विकृति तथा विसङ्गतिमा लाग्नुको जिम्मवार अभिभावक पनि भएको बताए । साना बालबालिकालाई अभिभावकहरूले बिंडी, चुरोट, सुर्ती तथा रक्सी खरीद गर्न लगाउने तथा उनीहरूकै सामुन्ने सेवन गर्दा बाल मनोविज्ञानमा नराम्रो असर पर्ने थारूले बताए ।

दुई दशक पहिले ग्रामीण समाज दुव्र्यसनी नभएको तर अहिले यो समस्याले विकराल रूप लिएको थारूले बताए । यसको न्यूनीकरण स्थानीय सरकार, अभिभावक तथा प्रहरी प्रशासनको नैतिक जिम्मेवारी रहेको अभियन्ता थारू बताउँछन् ।

अजो प्रतिक बाट