गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण सम्पन्न गर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण शुरु गरेको रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र छ । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड रुपैयाँ ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाएर निर्माण रोकेका थिए । मन्त्रिपरिषद्को निर्णयसँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार अहिले हिसाब फरफारक गर्नका लागि सरकारले १२ करोड रुपैयाँ दिने छ । हिसाब भने भरतपुर महानगरपालिकाले फरफारक गरेर निर्माण कार्य अघि बढ्ने छ । सरकारको युवा तथा खेलकुद मन्त्रालयले निर्माण सम्पन्न गरेपछि रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ ।

तीन हजार दर्शक क्षमता भएको प्याराफिटका लागि २ सय ८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माण रोकिएको हो । हालै नेपालले आईसीसी विश्वकप लिग टूमा तेस्रो स्थानमा रहँदै ग्लोबल छनोटमा पुगेपछि क्रिकेटका भौतिक संरचना निर्माणका लागि सरकारलाई दबाब परेको थियो ।

Share your love