कोशी प्रदेश नामकरण विरोधी समूहसँग वार्ता गर्न प्रदेश सरकारले समिति बनायो

कोशी प्रदेश नामकरणको विरोधमा रहेका विभिन्न समूहसँग वार्ता गर्न प्रदेश सरकारले समिति गठन गरेको छ ।

कोशीका मुख्यमन्त्री केदार कार्कीले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने गरी समिति बनाएको हो ।

जबेगु एकीकृत समाजवादीका र उप्रेती माओवादीका नेता हुनुहुन्छ । कोशीमा कांग्रेस नेतृत्वको सरकार रहे पनि वार्ता टोलीमा कांग्रेसका कुनै पनि सदस्य छैनन् । गएको फागुन १७ गते कोशी प्रदेश सभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरूद्ध आन्दोलन शुरु भएको थियो ।

कोशी नामकरणको पक्षमा एमाले, कांग्रेस, माओवादीलगायतका दलले मतदान गरेका थिए तर पछि माओवादीले भने पहिचानकै आधारमा नामाङ्कन हुनुपर्ने भन्दै आफूले गरेको निर्णयबाट पछि हटेको थियो । अहिले ‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ आन्दोलनमा छ ।

समितिले बन्द हड्ताल गर्ने, नेताहरूलाई अवरोध गर्नेलगायतका गतिविधि गर्दै आएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकालमा दुई चरणमा वार्ता भएयता राजनीतिक अस्थिरताका कारण प्रदेशमा वार्ता हुन सकेको थिएन ।

Share your love