कृषिप्रधान देश नेपालको कृषि ऐन नै छैन : मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले नेपालमा अहिलेसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश हो भन्ने गरे पनि अहिलेसम्म कृषि ऐन नै नहुनु दुःखद भएको बताउनुभयो । उहाँले अहिले मन्त्रालयले कृषि ऐन बनाउनका लागि मस्यौदा तयार पारिरहेको उल्लेख गर्नुभयो । उहाँले कृषि ऐन बनाउन सकेमात्रै पनि कृषिका कतिपय समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग कृषि ऐन नै छैन । भन्न त हामी कृषिप्रधान देश भन्छौँ, कृषितन्त्र अर्थतन्त्रको मेरुदण्ड भन्छाैँ तर कृषि ऐन नै छैन । ऐन बनाउनुपर्छ भनेर अहिले मन्त्रालयले काम अघि बढाइरहेकाे छ ।’

मन्त्री भुसालले आधुनिक समयमा पाखुराको बलमा खाद्यान्न उत्पानमा वृद्धि गर्छु भन्नु गलत भएको बताउनुभयो । उहाँले जतिसक्दो धेरै यन्त्रीकरणमा गएर कृषि उत्पादन वृद्धि गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय जनशक्तिको अभाव देखिएको बताउनुभयो । उहाँले जनशक्तिको अभावका कारण अहिले आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको बताउनुभयो । मन्त्री भुसालले तराईका ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन सिँचाइको सुविधा नहुँदा बाँझो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि तराईको ५० प्रतिशत जति जमिन सिँचाइबाट वञ्चित छ । धेरै जमिन जनशक्तिको अभावले बाँझो देखिएको छ । गएकाे वर्षकाे कृषि गणनाको आधारमा भन्ने हो भने १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो छ, त्यसलाई उपयोग गर्ने चुनौती छ । अब पाखुराको बलमा खेती उत्पादनमा वृद्धि गर्ने भन्ने कुरा भन्नेमात्रै हो, जतिसक्दो बढी यन्त्रीकरणमा जानुपर्छ । बजारको आवश्यकता र कृषि उपज उद्योगको स्थापना गर्न जरुरी छ ।’

मन्त्री भुसालले चिस्यान केन्द्र र बाँझो जमिन प्रयोगको प्रक्रिया मन्त्रालयले अघि बढाइरहेको पनि बताउनुभयो ।

 

Share your love