किसानलाई बर्ड फ्लूबाट भएको क्षतिपूर्ति दिन मन्त्रालय तयारी गर्दैछ : मन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले किसानलाई बर्ड फ्लूबाट भएको क्षतिपूर्ति दिन मन्त्रालयले तयारी गरिरहेकाे बताउनुभएकाे छ ।

शनिवार काठमाण्डौमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले किसानहरुले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्डफ्लूबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको बताउनु भयो । उहाँले कृषि मन्त्रालय खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो ।

यस्तै उहाँले नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको भन्दै गरिब समुदायको बालबालिकाहरुको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पोषक तत्व प्रोटिनको उपलब्धता नेपालमा पर्याप्त छैन । बालबालिकाको उमेरअनुसार समग्र विकासमा समेत सन्तुलित आहारको आवश्यक्ता हुन्छ । र त्यसैले सबै जनताको पहुँचमा यसको विस्तार गर्न आवश्यक रहेको छ । मन्त्रालय यस्ता खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयासरत छ तर अहिले पनि दुर्भाग्य देशमा उत्पादन गर्न सकिने खाद्य श्रोतहरुको आयातमा खर्बौं रुपैयाँ विदेशीहरेको छ । अण्डा र कुखुराको मासुमा नेपाल लगभग आत्मनिर्भर रहेको छ । तर किसानहरु बर्ड फ्लू दानाको उचित मूल्य नपाउँदा चिन्तित छन्, बर्ड फ्लूबाट परेको असरलाई कम गर्न साना कृषकलाई लगानी अनुसारको प्रतिफल पाउन संघर्ष गरिरहेको समस्याबाट ग्रस्त छ । बर्ड फ्लूको क्षतिको नियमानुसार क्षतिपूर्ति दिलाउन मन्त्रालय लागिपरेको छ ।’

मन्त्री साहले कृषि तथा पशुजन्य उत्पादनहरु बढाइ कृषिमा आत्मनिर्भर हुन लागिपरेको पनि उल्लेख गर्नुभयाे ।

 

Share your love