सभामुखको पहिलो बैठक : तटस्थ भूमिका खेल्ने प्रतिबद्धता, एमालेबाट राजीनामा

सभामुख देवराज घिमिरेले आफूले संवैधानिक मर्यादा र भूमिकालाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सभामुख पदमा निर्वाचित भइसकेपछि आज पहिलो बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सभामुखको तटस्थ निष्पक्ष र समन्वयकारी भूमिकामा आफू सचेत र क्रियाशील रहेको बताउनुभयो । उहाँले आफू सभामुखमा निर्वाचित भइसकेपछि विगतमा आवद्ध रहेको नेकपा एमालेका सबै जिम्मेवारी र भूमिका त्यागेर सभामुखको भूमिका निर्वाह गर्न लागेको बताउनुभयो ।

उहाँले संसद्मा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जीवन्तता हुने भन्दै स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधिसभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गर्ने पनि बताउनुभयो । उहाँले आफू बेलायती संसदीय अभ्यासको क्रममा विकसित भएको सरकार सत्तापक्षको, संसद प्रतिपक्षको भन्ने मान्यतामा प्रष्ट रहेको भन्दै संसद्लाई त्यसै अनुसार सञ्चालन गर्ने पनि बताउनुभयो ।

Share your love