कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा, समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक

वैशाख २१– आगामी आइतबारदेखि सुरु हुने नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । एसएस एभेन्ट्स प्राली र नेपाल खेलकुद महासंघ (नेकोस)को संयुक्त आयोजनामा उक्त प्रतियोगिता शनिबारदेखि तीन दिनसम्म हुँदै छ ।

शुक्रबार नक्सालमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले यस संस्करणको समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक गरेको हो । एएस एभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियार, प्रतियोगिता निर्देशक प्रबिन जोशी र नेकोसका महासचिव धरमबहादुर लामाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

तीन वर्षपछि पुनः सञ्चालनमा आउन लागेको यस संस्करणमा कुल १५ कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्नेछन् । यी टोलीलाई कुल चार समूहमा विभाजन गरिएको छ । तीन समूहमा चार टोली रहनेछन् भने एक समूहमा तीन टोली मात्र प्रतिस्पर्धा गर्ने प्राविधिक संयोजक विनयकुमार झाले जानकारी दिए । शुक्रबार नै ड्र सार्वजनिक गरिएको हो । जसअनुसार समूह ‘ए’ मा माच्छापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआइसी एसिया बैक र प्राइम बैंक तथा समूह ‘बी’ मा आइसिएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन् ।

समूह ‘सी’ मा सूर्य नेपाल, आइएमइ ग्र्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसी गरी तीन टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा सञ्चालन हुनेछ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुँदै छ । यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् ।

यस संस्करणको विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएकम छन् । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ । सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो ।

सातौं सिजनदेखि नेकोस जोडिएको हो । छैटौं संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन भने लामो समयसम्म हुन सकेन । प्रतियोगिता प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ । सो प्रतियोगितामा नेपाल क्रिकेट संघ(क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रालीका निर्देशक रौनियारले जानकारी दिए ।

Share your love