एमाले शासकीय स्वरूपको विषयमा पुनर्विचार गर्ने पक्षमा छैन : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी शासकीय स्वरूपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको बताउनुभएकाे छ । आज बुधवार न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरूपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘आजको आवश्यकता शासकीय स्वरूपको बारेमा विचार वा पुनर्विचारभन्दा पनि संविधानको रक्षा हो । संविधानको प्रभावकारी कार्यान्वयन हो । संविधानको रक्षा र यसको प्रभावकारी कार्यान्वयनको क्रममा आर्जित अनुभवको आधारमा आउने दिनमा संविधान संशोधन हुँदै जाने कुरा अलग विषय हो । संविधानले सुनिश्चित गरेकाे मौलिक हककाे नागरिकले सहज ढङ्गले उपभोग गर्न सक्ने परिस्थिति कसरी निर्माण गर्न सक्छौँ भन्ने प्रश्न चाहिँ हाम्रा निम्ति छलफलको विषय हुनुपर्दछ जस्तो मलाई लाग्छ । त्यो सँगसँगै राष्ट्रको समग्र आम्दानीलाई बढाउनेबारे पनि साेच्नुपर्छ ।’

उपाध्यक्ष पाैडेलले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नुभयाे । सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले सत्तारूढ गठबन्धनले देशमा समस्यामात्रै सिर्जना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नुभयाे । सत्तारूढ गठबन्धनको क्रियाकलापलाई हेरेर मतदाताले उनीहरूलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभूति भएको पनि उपाध्यक्ष पौडेलकाे भनाइ थियाे ।

अन्य सहयात्री दलहरूको सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आउँदाे पाँच वर्ष देश हाँक्ने उपाध्यक्ष पाैडलले दाबी गर्नुभयाे । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहनुभएका उहाँले भन्नुभयो, ‘एमाले आउँदाे चुनावबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रूपमा सरकारको नेतृत्व गर्न उदाउने छ भन्ने मेरो अटल विश्वास छ । गठबन्धनकाे काम कारबाहीलाई लिएर आम मानिसले उनीहरूलाई देशको नेतृत्व दिन सकिँदैन भन्ने अनुभूति दिएका छन् । मैले आफैँ पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थितिको बारेमा जानकारी लिने गर्छु । एक सय ६५ निर्वाचन क्षेत्रको कुरा गर्दा र समानुपातिकतर्फको कुरा गर्दा दुवैतर्फ एमालेकाे दुई तिहाइ त म भन्दिन तर साधारण बहुमत ल्याउने स्थिति छ ।’

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी चुनावकाे तयारीमा सबैभन्दा व्यवस्थित ढङ्गले अघि बढेको पार्टी भएको जिकिर गर्नुभयो । छिटै पार्टी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गर्ने उहाँले घोषणा गर्नुभयो । उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट आफू सानदार ढङ्गले विजयी हुने दाबी पनि गर्नुभयाे ।

 

Share your love