एमालेले तत्काल सरकार नछाड्ने, राष्ट्रपति चुनावसम्म पर्खने

नेकपा एमालेले तत्काल सरकार नछाड्ने भएको छ । शनिवार आज बिहान बसेको पार्टी सचिवालय बैठकले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने र राष्ट्रपतिको चुनावसम्म अहिलेकै गठबन्धन कायम हुने निर्णय गरेको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते जुन सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो । अहिले भएको सरकार फाल्ने र नफाल्ने भन्नेबारेको विषय नभइ राष्ट्रपतिको मात्रै विषय भएकाले २५ गतेसम्म पर्खने निर्णय भएको उहाँको भनाइ छ ।

यस्तै एमालेले राष्ट्रपतिको चुनावमा आफ्नो पक्षमा बहुमत जुटाउन नेपाली कांग्रेसबाहेक सबै दलसँग संवाद गर्ने भएको छ । गुरुङले भन्नुभयो,  ‘कांग्रेसको आफ्नै उम्मेदवार भएकाले कांग्रेसबाट हामीलाई सहयोगको आश भएन, बाँकी सबै दलहरूसँग राष्ट्रपतिको चुनावसम्म हामी छलफल र संवाद गर्दै सहकार्यको वातावरण बनाउँछौँ ।’

 

Share your love