उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता हुँदैन, बरु मित्रवत् प्रतिस्पर्धामा जान्छौँ : सीके राउत

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले उपराष्ट्रपति पदमा पार्टीको उम्मेदवारी फिर्ता नहुने बताएका छन् ।

शनिबार संसद् भवन बानेश्वरमा उम्मेदवारी मनोनयनपछि अध्यक्ष राउतले सत्ता गठबन्धनमा आफूहरूले उपराष्ट्रपति पदमा दाबी गरेको, र जनमत पार्टीको उम्मेदवार नै गठबन्धनको आधिकारिक उम्मेदवार हुने विश्वास व्यक्त गरे ।

उनले अझै पनि गठबन्धनबाट जनमत पार्टीकै उम्मेदवारलाई आधिकारिक बनाउन प्रयास गर्ने बताए । जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

उनलाई नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेका छन् । जनता समाजवादी पार्टीबाट पनि संसदीय दलका नेता रामसहाय प्रसाद यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गरेका छन् ।

Share your love