इलामको महेन्द्ररत्न क्याम्पस केन्द्र नजिकैबाट केही सामग्री बरामद

इलाम बजारमा रहेको महेन्द्ररत्न क्याम्पस केन्द्र नजिकैबाट ‘एक्जिट पोल’ का नाममा अवाच्छित गतिविधि भएको पाइएपछि प्रहरीले केही सामग्री बरामद गरेको छ । मतदान गरेर फर्किएकाहरूलाई पुनः नक्कली मतपत्रमा मत खसाउन लगाउने गरेको भेटेपछि सुरक्षाकर्मीले सामग्री जफत गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

उपचुनाव भइरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । इलामको प्रतिनिधि सभा क्षेत्र–२ तथा बझाङको प्रदेश सभा १ (क) मा अहिले मतदान भइरहेको हो । इलामका सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यहाँ प्रमुख दलका र मुख्य प्रतिस्पर्धी मानिएका उम्मेदवारले मतदान गरिसकेका छन् ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले महेन्द्ररत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ–२ दहगाउँको जनता कल्याण आधारभूत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम–३ को सिंहदेवी मावि शुक्रबारे ‘क’ केन्द्रमा मतदान गर्नुभएको छ । इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ आज उपचुनाव भएको हो ।

यस्तै बझाङ प्रदेश सभा १ (क) मा पनि मतदाता उत्साहजनक रूपमा लामबद्ध भएर मतदान गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । बझाङ–१ (क) मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि आज उपचुनाव भएको हो । बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

 

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *