इण्डियन वुमन्स लिग खेल्न चार खेलाडी भारत प्रस्थान

इण्डियन वुमन्स लिग (आईडब्लूएल)मा व्यावसायिक फुटबल खेल्न नेपाली राष्ट्रिय टिमका चारजना खेलाडी बिहीबार भारत प्रस्थान गरेका छन् । साविक विजेता गोकुलम केरलाबाट खेल्ने स्ट्राइकर सावित्रा भण्डारी, सेथु एफसीबाट खेल्ने गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र किक स्टार्टबाट खेल्ने सरु लिम्बु र रेनुका नगरकोटी भारत गएका हुन् ।

सावित्राले सन् २०१८–०१९ को सिजनदेखि नै भारतमा व्यावसायिक लिग खेलिरहेकी छन् । सरु र रेनुका यसअघि २०२० को सिजनमा अनुबन्ध भए पनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएपछि खेल्न पाएका थिएनन् ।
नेपाली टिमकी उदीयमान खेलाडी दीपा शाही पनि लर्डस एफसीका लागि अनुबन्धित भइसकेकी छन् । सन् २०१६ देखि सुरु भएको भारतीय महिला फुटबल लिगमा १६ टिम छन् । नयाँ संस्करणको प्रतियोगिता २५ अप्रिलदेखि सुरु हुनेछ । सहभागी १६ टिमलाई दुई समूहमा बाँडेर प्रतिस्पर्धा गराइनेछ । हरेक समूहको शीर्ष चार टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
Share your love