आज विश्व रेडक्रस दिवस : ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ मनाईंदै

‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ तारिख, आजकै दिन रेडक्रस दिवस मनाइन्छ ।

आधुनिक र प्रविधियुक्त विश्वमा अन्तरदेशीय र देशभित्र हुने युद्ध, हिंसा, विभेदका कारण मानवता कमजोर हुँदै गइरहेको तथा तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रभावका कारण विपद्का घटना, खडेरी र अनिकालका कारण मानवताको रक्षा थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

दिवसले रेडक्रसकर्मीमा मानवीय आत्मसम्मानको रक्षा गर्ने, मानवीय पीडा कम गर्ने र विशेषतः पहुँच बाहिर जोखिमपूर्ण अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सेवा गर्ने प्रेरणा र प्रतिबद्धता प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको छ । रेडक्रस अभियान मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित छ ।

रेडक्रस अभियानले हरेक वर्ष सङ्घर्ष र विभिन्न विपत्तिका बेला विश्वभरिका नौ करोड ५० लाखभन्दा बढी व्यक्तिलाई सेवा पुर्‍याउन सक्षम रहेको जनाएको छ । रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय परोपकारी संस्था हो ।

विश्वभरका एक सय ९१ राष्ट्रिय सोसाइटीहरूसहित मिलेर बनेको यस अभियानमा झण्डै एक करोड ६० लाखभन्दा बढी स्वयंसेवक आबद्ध रहेको रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले जनाएको छ ।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *