आज नयाँ वर्ष, हर्षाेल्लासकासाथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

आज विक्रम सम्वत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् ।

यस्तै, आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहाेरिन नदिने र सफलता प्राप्त गर्न योजना बनाउने एवम् सङ्कल्प गर्ने गर्दछन्।

आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिष्टान्न भोजन बनाएर खाने चलन छ । नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

 

Share your love