नागरिकले आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था आएको छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरू आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।

बिहीवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताउनुभयो । उहाँले मानिसहरूको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने बताउनुभयो ।

महामन्त्री थापाले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले कोही पनि मानिसलाई आफ्नो सपनाको मलामी जान मन नलाग्ने भन्दै सपनाको मलामी जानुपर्दा मान्छे दिग्दार, आक्रोशित र वाक्क हुने बताउनुभयो । नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसकेको उहाँकाे टिप्पणी छ ।

उहाँले भन्नुभयो, ‘नागरिकमा ठूलो छटपटाहट छ । ठूलो एउटा दिग्दारी देखिन्छ । अझ एक खालले भन्ने हो भने एक किसिमको आक्रोश देखिन्छ । यो आक्रोश केको आक्रोश हो ? संविधान नभएको बेलामा बरु मान्छेहरूमा एक खालको स्थिर मन थियो । अहिले मन यति चञ्चल छ । सपना हुन्छ नि मानिसमा । प्रत्येकको आफ्नो सपना हुन्छ । सपना बोकेर हुर्किरहेको हुन्छ । कसैलाई पनि आफ्नो सपनाको मलामी जान मन लाग्दैन । आफ्नो सपनाको मलामी जानुपर्‍याे भने मान्छे दिग्दार हुन्छ । मान्छे आक्रोशित हुन्छ र वाक्क हुन्छ । अहिले किन अस्थिरता मनमा छ भने मान्छे आफ्नो सपनाको मलामी जानुपर्ने अवस्था आएको छ । आशा र विश्वास मानिसले गुमाइसके ।’

महामन्त्री थापाले वैशाख मसान्तसम्म पार्टी भ्रातृ सङ्गठनहरूको विभाग बनाउने र पूर्णता दिने काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

Share your love