आक्रोसित वीरगंज महानगरले नेपाल टेलिकमको कार्यालयमा फोहर फल्यो

वीरगन्ज महानगरपालिकाले शहरबाट संकलित कचरा सहितको फोहोर नेपाल टेलिकम परिसरभित्र लगेर फालेको छ ।

वीरगन्जका विभिन्न स्थानमा सेवा विस्तारका क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आक्रोशमा मंगलबार बिहान महानगरपालिकाले शहरबाट संकलित कचरासहितको फोहोर श्रीपुर स्थित टेलिकमको प्रादेशीक निर्देशनालय कार्यालय परिसरमै लगेर फालि दिएको हो ।

महानगरपालिकाले वीरगन्जमा सन्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र कार्यालयको मुख्य प्रवेशद्वारमै लगेर फालेको हो ।

महानगरका मेयर राजेशमान सिंहका अनुसार , टेलिकमले अप्टिकल फाइबार ओछ्याउने क्रममा बाइपास सडकखण्डको कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको छ । खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको मेयर सिंहले बताउनुभयो ।

कार्यालयमै फोहोर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताउनुभयो ।

उहाका अनुसार , यसअघि फागुन ३ गते प्रमुख जिल्ला अअधिकारीकै उपस्थितीमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो ।

उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक पटक आग्रह गर्दै आएको थियो ।

उक्त सहमति पालना गराउनका लागि महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाइ पनि पत्र लखेर आग्रह गर्दा पनि टेलिकमले नटरेको घिमिरेको भनाई छ ।

महानगरले चलाएको सफा र सुन्दर शहर बनाउने अभियानमा टेलिकमले भाँजो हालेको पनि उहाले बताउनुभयो ।

यता टेलिकम प्रादेशीक निर्देशनालयका निर्देशक अनन्त प्रकाश मल्लिकले महानगरपालिकाबाट कानूनी राज्यको उपहास गरिएको प्रतिक्रिया दिनुभयो ।

यसबारे जिल्लाका सुरक्षा निकायका प्रमुख देखि टेलिकमको केन्द्रिय कार्यालय सम्म आफुले जानकारी गराइसकेको मल्लिकले बताउनुभयो ।

महानगरले कार्यालय परिसरमै फोहोर ल्याएर थुपारेपनि कार्यालयको सेवा भने सुचारु नै रहने र कर्मचारीबाट कुनै अवरोध नहुने पनि उहाले प्रष्ट्याउनुभयो ।

Share your love