उद्योग वाणिज्य महासंघ चुनाव : वरिष्ठ उपाध्यक्षकाे लागि उम्मेदवारका प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा चुनाव चैत २८ र २९ गते हुँदैछ । चुनावको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ ।

चुनाव नजिकिएसँगै व्यवसायीहरुले प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिसकेका छन् । चुनाव जित्नको लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार टिम बनाएर उम्मेद्वार तानातानमा ब्यस्त छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिष्पर्धा देखिएको छ ।

वरिष्ठ उपाध्यक्ष पदको लागि मुख्य तीन जना प्रतिष्पर्धीले आ–आफ्नो टिम घोषणा गरेका छन् । जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरिसकेका छन् ।

त्यस्तै,वरिष्ठ उपाध्यक्ष बाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागि समेत चुनाव हुँदैछ । तर भरत आचार्य भने उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको सर्वसम्मत एशाेसिएट उपाध्यक्षको उम्मेद्वार बन्नुभएकाे छ । मंगलवार आचार्य र पाण्डेबीच सहमति भएपछि अब यी दुई प्यानलबीच एशोसिएट उपाध्यक्षमा भने आचार्यको मात्रै उम्मेदवारी रहनेछ । अब एशाेसिएट उपाध्यक्षमा उमेशलाल श्रेष्ठ टिमका भरत आचार्य र रामचन्द्र संघाई टिमकी एशाेसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठबीच चुनावी प्रतिष्पर्धा हुनेछ ।

ज्योत्स्ना दुई दिनअघि अञ्जनको टीमलाई छोडेर वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघाईको टीममा पुग्नुभएकाे थियाे । वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वारहरुले अर्थतन्त्रमा देखिएको संकटका कारण समस्यामा रहेका व्यवसायीहरुको समस्या समाधान गर्न कस्तो पहल गर्ने प्रविद्धतता जनाए भन्नेकुरा सबै व्यवसायीहरुको चासोको विषय छ । व्यवसायीहरुको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन पहल गर्ने जस्ता प्रतिवद्धता उनीहरुको छ ।

आईतवार रामचन्द्र संघाईले समृद्धिको आधार राजनीतिक स्थायीत्व,लगानीमैत्री वातावरण र पूर्वाधार मुल नारासहित वरिष्ठ उपाध्यक्षका उम्मेद्वारी घोषणा गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुका समस्याको समाधान गरी व्यवसायीहरुको हकहीतमा निरन्तर लाग्ने अठोटसहित उम्मेद्वारी दिएको बताउनु भयो । उहाँले महासंघको संगठनात्मक सुधार र समन्वय गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले महासंघलाई थप प्रविधिमैत्री बनाउने,उद्योगी व्यवसायीहरको गुनासो समस्या बुझ्ने हेल्प डेस्क र हट लाइन व्यवस्थित बनाउने,प्रदेश च्याप्टरहरुको भुमिका थप बढाउने,केन्द्र,प्रदेश,जिल्ला नगर समन्वय बढाउने,देशभर महासंघको आफ्नै भवन बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सुस्ताएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएर आर्थिक विकास र अर्थतन्त्र सुधार गर्ने पनि बताउनु भयो ।

त्यस्तैै, सोमवार वरिष्ठ उपाध्यक्षको उम्मेदवार उमेशलाल श्रेष्ठले सक्षम निजी क्षेत्र, समृद्ध अर्थतन्त्र मुल नारासहित उम्मेद्वारी घोषणा गर्नुभएको छ । उहाँले संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरुको हीतमा  काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आर्थिक काँचुली फेर्नका लागि निःस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले उद्योग वाणिज्य महासंघमा  फोटो खिच्न नभएर उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि आफू वरिष्ठ उपाध्यक्षमा उठेको  स्पष्ट पार्नुभयो । उम्मेद्वार श्रेष्ठले बिना शर्त व्यवसायीका समस्या समाधान गर्न लागिपर्ने बताउनु भयो । महासंघबाट सरकारलाई पत्र बुझाउँदा पत्र वाचन गर्ने अध्यक्ष मात्रै नबन्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले महासंघको वरिष्ठ उपाध्यक्ष जिताएर पठाए कसैको कठपुतली नहुने तर उद्योगी व्यवसायीहरुको कठपुतली बन्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन महासंघ सुदृढ र संगठित महासंघ पाउन नसकेको भन्दै अब आफूले बनाउने प्रतिवद्धता जनाउनु भयो ।

अर्का वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार अञ्जन श्रेष्ठले भने औपचारिक कार्यक्रम गरेर व्यवसायीहरु माझ प्रतिवद्धता सार्वजनिक गर्नुभएको छैन । तर श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेद्वारी भने दर्ता गरिसक्नुभएको छ ।

Share your love