अस्पतालको काम छाडेर ठेकेदार सम्पर्कविहीन, भवन निर्माण अलपत्र

भवन निमार्णकाे जिम्मा लिएकाे ठेकेदार कम्पनी काम छाडेर सम्पर्कविहीन भएपछि रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन १५ शय्याकाे दोरम्बा अस्पतालको निमार्ण काम एक वर्षदेखि अलपत्र परेको छ ।

दोरम्बा अस्पताल भवन निमार्ण गर्न आरोग्य सुवेदी जेभी कम्पनीले भ्याट र पीएससहित ११ करोड ३० लाख ११ हजार रुपैयाँमा २०७८ सालकाे चैत १६ गतेसम्म सम्पन्न गर्ने गरी २०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले २ करोड २६ लाख रुपैयाँ निकालेर भवनको जग र पिलर हाल्ने काम गरेपछि बीचमै सम्पर्कविहीन भएकाे हाे । भवनकाे काम झन्डै १५ प्रतिशतमात्र भएकाे छ ।

भवन निर्माणका लागि ठेकेदार कम्पनीलाई पहिलो पटक ८२ लाख ४७ हजार रुपैयाँ भुक्तानी दिइसकेको र दोस्रो बिलको ४६ लाख १३ हजार रुपैयाँ भुक्तानीका लागि आवश्यक कागजात तयार गरिएको गाउँपालिकाले जनाएको छ । रकम बुझेकाे कम्पनी त्यसपछि भवन निर्माणकाे काममा फर्किएकाे छैन । सम्झौताअनुसारको समय सकिएपछि दोरम्बा शैलुङ गाउँ कार्यपालिकाको बैठकले पहिलो पटक २०७८ असोज १६ गतेसम्मका लागि म्याद थप गरेको थियो । त्यस अवधिमा पनि कुनै काम नभएपछि गाउँपालिकाले २०८० असार २४ गतेसम्मका लागि दोस्रो पटक म्याद थप गरेको छ ।

अस्पताल भवन निर्माणकाे जिम्मा लिएकाे कम्पनीले काम नगर्दा पिलरकाे रडमा खिया लागेको छ । याे भवन निर्माणका लागि ल्याइएका सामग्रीहरू ठेकेदार कम्पनीले रातारात उठाएर अर्कै ठाउँमा लगेको दोरम्बा–२ का मीनबहादुर तामाङले बताउनुभयाे । अस्पतालजस्तो संवेदनशील विषयमा निर्माण व्यवसायीले राजनीति गरेकाे भन्दै कम्पनीलाई कानुनअनुसार कारबाही गरेर भए पनि काम सम्पन्न गराउन लाग्नुपर्ने उहाँकाे भनाइ छ ।

अस्पताल भवन नहुँदा दैनिक उपचार लिन आउने सेवाग्राहीहरूलाई जस्ताको टहरामा राखेर उपचार गराउनुपर्ने बाध्यता रहेको दोरम्वा अस्पतालका अहेब प्रवीण बराइली बताउनुहुन्छ । ‘दोरम्बा अत्यन्तै चिसो ठाउँ भएकाले बिरामीलाई राख्ने ठाउँ अभाव हुँदा भर्ना गर्नसमेत समस्या भएको छ’, उहाँले भन्नुभयाे ।

कम बीचमै छाेडेर सम्पर्कविहीन भएकाे कम्पनी अहिले सम्पर्कमा आएको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘हामीले धेरै पटक प्रयास गर्दा निर्माण व्यवसायी सम्पर्कमा आएका छन् । अलपत्र परेको भवनको काम तत्काल सुरु गर्न निर्देशन दिएका छौँ । उनीहरूले चाँडै काम सुरु गर्ने जनाएका छन् ।’

 

Share your love