अस्ट्रेलिया चीनसँग ‘निर्बाध व्यापार’ गर्न इच्छुक

अस्ट्रेलिया र चीनबीच तनावपूर्ण सम्बन्ध सुधारका लागि मन्त्रीस्तरीय वार्तापछि अस्ट्रेलियाले सोमबार चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न आग्रह गरेको छ। चीनले सन् २०२० मा जौं, गाइको मासु र वाइनजस्ता अस्ट्रेलियाका प्रमुख निर्यातमा चर्को कर लगाएको थियो।

हालैका वर्षहरूमा रणनीतिक रूपमा महत्त्वपूर्ण दक्षिण प्रशान्त क्षेत्रमा प्रभावका लागि पनि उनीहरू होडबाजी गरिरहेका छन्। अस्ट्रेलियाको सरकारले मे महिनामा भएको निर्वाचनपछि चीनसँग कम मुठभेडको अडान लिएको छ र सोमबार चिनियाँ अधिकारीहरूसँग ‘व्यापारको पूर्ण पुनः उत्थान’’ बारे छलफल गरेको छ।

व्यापारमन्त्री डन फेरेलले चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओसँग भिडियो लिङ्कमार्फत कुरा गरेको र ‘अस्ट्रेलियाली निर्यातकर्ताका लागि निर्वाध व्यापार’ को आवश्यकतामा जोड दिएको बताए। दुवै नेता अनिर्दिष्ट समयमा चीनमा व्यक्तिगत रूपमा भेट्न सहमत भएका छन्।

अस्ट्रेलियाली कोइलामा लगाइएको अनौपचारिक प्रतिबन्धका साथै करवृद्धिका कारण चिनियाँ बजारबाट प्राप्त हुने राजस्वमा पाँच अर्ब अस्ट्रेलियन डलर (३.४७ अर्ब अमेरिकी डलर) भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

फेरेलले यो बैठक चीनसँगको अष्ट्रेलियाको सम्बन्ध स्थिरीकरणका लागि महत्त्वपूर्ण कदम भएको बताए। सम्बन्धमा आएको तघारोसँगै कुनै समय चिनियाँ सरकारका मन्त्रीहरूले आफ्ना अस्ट्रेलियाली समकक्षीहरूको फोन उठाउन इन्कारसमेत गर्ने अवस्था आएको थियो।

Share your love