देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएको हो । अधिवक्ता विमलप्रसाद पोखरेलले माघ १८ गते दायर गरेको रिट यससम्बन्धमा अदालतमा प्रश्न उठाउन नपाइने र निवेदकलाई प्रस्तुत निवेदन गर्ने हकदैया समेत नरहेको भन्दै सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध अधिवक्ता पोखरेलले निवेदन दिनुभएको थियो । न्यायाधीश प्रधानले रिट दर्ता गरि सुनुवाइका लागि पेश गर्न आदेश दिएसँगै बुधबार सुनुवाइ हुने भएको छ । पोखरेलले संसद सचिवालयविरुद्ध रिट निवेदन दिनुभएको थियो ।

रिटमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर विपक्षी दलको हैसियत गुमाएकाले देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण देउवालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुन समेत रोक लगाउन माग गर्दै विपक्षी दलको कुनै पनि भूमिकामा नदिन रिटमा भनिएको छ ।

यस्तै, संसद सचिवालयबाट कुनैपनि सेवा सुविधा नदिन समेत निवेदकको माग छ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गत पुस २६ गते विश्वासको मत दिएपनि सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । संसद सचिलायले कांग्रेस संसदीय दलका नेता देउवालाई नै विपक्षी दलको प्रमुख नेताको सेवा सुविधा, सुरक्षा र कार्यालय पनि उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

Share your love