‘अरू न्यायाधीश स्थायी, सर्वोच्चको प्रधानन्यायाधीश चाहिँ अस्थायी ?’

प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीहरूले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

सोमवार सर्वोच्च अदालत बार एसाेसिएशनको ४९ औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित भएका कानुन व्यवसायीहरूले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुनु शोभनीय नभएको बताउनुभयो ।

प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर पर्ने साथै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति परनिर्भर हुने अवस्था आउने उहाँले बताउनुभयो । त्यस्तै वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतलाई कायममुकायम प्रधानन्यायाधीशबाट चलाउनु संविधानविरुद्धको काम भएको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो स्थायी प्रधानन्यायाधीश नियुक्त गर्न संसद्लगायतका सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल बार एसाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम छोटो समयका लागि परिकल्पना गरिएको पद भएको बताउनुभयो । उहाँले स्थायी प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो नदेखाइएको बताउनुभयो । लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशबाटै संवैधानिक इजलास चलिराखेको भन्दै उहाँले यस्तो हुँदा न्याय सम्पादनमा फरक पर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश नियुक्त गर्न सरकार र संसद्लाई आग्रह गर्नुभयो ।

त्यस्तै सर्वोच्च अदालत बार एसाेसिएशनका अध्यक्ष हरिशङ्कर निरौलाले कामयमुकायम प्रधानन्यायाधीशले लामो समय सर्वोच्च अदालत चलाउनु उचित नभएको बताउनुभयो । कायममुकायमले निडर भएर गुणस्तरीय फैसला गर्न नसक्ने उहाँको भनाइ छ ।

Share your love