अमेरिकाद्वारा चीनलाई प्रविधिको बिक्रीमा कडाइ

अमेरिकाले चीनलाई प्रविधिको बिक्रीमा प्रतिबन्ध लगाउन कडा नियमहरु घोषणा गरेसँगै एसियाका प्रमुख कम्प्युटर चिप निर्माताहरूको सेयर भाउ घटेको छ। अमेरिकाले चिनियाँ चिप निर्माताहरूले चिपहरू उत्पादन गर्न सक्ने उपकरणहरू आपूर्ति गर्न इजाजतपत्रको लागि आवेदन दिनुपर्ने व्यवस्थासहित शुक्रवार नयाँ नियम घोषणा गरेको थियो ।

अमेरिकाको घोषणापछि लगातार बिदा परेका कारण आज खुलेका ताइवान, दक्षिण कोरिया र जापानका शेयर बजारमा प्रविधि कम्पनीहरुको शेयर भाउ घटेको बीबीसीले जनाएको छ । ताइवानको चिपमेकर कम्पनी टी।एस।एम।सी को शेयर सात दशमलव सात प्रतिशतले घटेको छ ।

यस्तै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनीको शेयर दुई दशमलव तीन र जापानको टोकियो इलेक्ट्रोनको शेयर पाँच दशमलव पाँच प्रतिशतले घटेको छ । अमेरिकाले अमेरिकी फर्महरूलाई सुपर कम्प्युटर र आर्टिफिसियल इन्टेलिजेन्सका लागि प्रयोग हुने केही चिप्स चिनियाँ कम्पनीहरूलाई बेच्न पूरै प्रतिबन्ध लगाउने बताएको छ ।

अमेरिकाले चिनियाँ सैन्य र प्राविधिक प्रगतिलाई रोक्नको लागि नयाँ नियम लागू गरेको जनाएको छ । यो नियम चीनमा प्रविधि निर्यात गर्ने अमेरिकी नीतिमा पछिल्लो दशककै सबैभन्दा ठूलो परिवर्तन हो।

Share your love