यूएईलाई हराउँदै हङकङ एसिया कप क्रिकेटमा छनोट

काठमाण्डाै – यूएईलाई हराउँदै हङकङ एसिया कप क्रिकेटका लागि छनोट भएको छ । गएराति यूएईको अलअमिरात मैदानमा भएको खेलमा यूएईलाई हराउँदै हङकङ शीर्ष स्थानमा रहेर एसिया कपका लागि छनोट भएको हो । यूएई ८ विकेटले पराजित भयो ।

जितसँगै हङकङले ३ खेलमा ६ अङ्क जोडेको छ । यूएईले दिएको १ सय ४८ रनको लक्ष्य हङकङले १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । हङकङका यासिम मुर्ताजाले ५८ रनको अर्धशतकीय पारी खेले ।

यूएईका जुनेद सिद्दिकी र बासिल हामिदले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।

हङकङका इशान खानले ४ तथा आयुस शुक्लाले ३ विकेट लिए । एसिया कप आउँदो शनिवारदेखि सुरु हुँदैछ । हङकङ भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ । प्रतियोगितामा ६ देश सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

हङकङले पहिलो खेल अगस्ट ३१ मा भारतसँग खेल्नेछ । समूह ‘बी’ मा श्रीलङ्का, बङ्लादेश र अफगानिस्तान रहेका छन् ।

 

Share your love