नेपाललाई २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्दै आर्थिक विकासमा सुधार गर्ने योजना

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको छ । बुधवार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको हो ।

उहाँले वर्तमान सरकारले १५ औं पञ्चवर्षीय योजना अनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले सन् २०४५ सम्म कार्बन उत्सर्जन शुन्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको बताउनु भयो । उहाँले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले त्यसको लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको औँल्याउनु भयो । उहाँले देशमा पूर्वाधार विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै लगानी बढाउन आग्रह गर्नुभयो । उहाँले नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने अवस्था रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले लगानी बोर्डले ३३ वटा आयोजनाको लागि ९ अर्ब डलर बराबरका योजना स्वीकृत गरेको भन्दै जसमध्ये २० वटा ठूला जलविद्युत् परियोजना रहेको बताउनु भयो ।

लगानी बोर्ड दिगो पूर्वाधार लगानी फोरममा नेपालले घरेलु तथा बाह्य निजी लगानी आकर्षण गर्न अत्यावश्यक मानिएको परियोजना बैंक स्थापना गर्न निर्देशिका जारी गरेको छ । तीन वर्षअघि सार्वजनिक निजी साझेदारी र लगानी ऐन ९पीपीपीआईए० ले नै गुणस्तरीय लगानी आकर्षणका लागि परियोजना विकास बैंक स्थापनाको परिकल्पना गरेको थियो । तर ३ वर्षसम्म पनि निर्देशिका भने बन्नसकेको थिएन ।

बैंकयोग्य पूर्वाधारको सुनिश्चित पाइपलाइन परियोजनाको सिर्जना गर्ने, घरेलु प्रत्यक्ष लगानी ९डीडीआई० तथा प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० का लागि आन्तरिक लगानी आकर्षित गर्न परियोजना बैंकले सहयोग गर्नेछ । बोर्डले वैदेशिक लगानी भित्र्याउन सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान गरेको छ ।

Share your love