नवलपरासीमा शिक्षक सरूवाको विरोधमा विद्यार्थीले गरे प्रदर्शन

परासी- शिक्षक सरूवाको विषयलाई लिएर विद्यार्थीहरूले बुधबार नवलपरासीको रामग्राम नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् ।सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित एकै पटक ३३ जना शिक्षककको सरूवा गरेपछि अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा हलचल मच्चिएको हाे । देशभर राष्ट्रिय बाल दिवस मनाई रहेका बेला सदरमुकाम परासीको रामग्राम नगर क्षेत्रका विद्यार्थीहरू भने आन्दोलनमा उत्रिएका हुन् ।

बाल दिवसको अवसरमा नगरपालिकाको सभाहलमा चित्रकला प्रदर्शनी राखिएको थियो । तर, विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि कार्यक्रम स्थगित भएको छ । आन्दोलनका कारण नगरपालिकाको काम समेत ठप्प बनेको छ । विद्यार्थीहरूले नगरपालिकाको मुल गेटबाट भित्र प्रवेश गर्न थालेपछि केही समय प्रहरीसँग विवाद समेत भएको थियो । सदरमुकाममा रहेको पवन माध्यामिक विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको आन्दोलनमा वरपरमा रहेका केही विद्यालयका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।

पढाई राम्रो गर्ने शिक्षकको सरूवा गरेका कारण आन्दोलन गरिएको विद्यार्थीहरूले बताएका छन् । सरूवा फिर्ता नभएसम्म आन्दोलन जारी रहने पवन माविका विद्यार्थीहरूले बताएका छन् । पवन माविबाट प्रधानाध्यापकसहित ६ जना शिक्षकको सरूवा गरिएको छ । नगर क्षेत्रमा ३२ वटा सामुदायिक विद्यालयमा छन् ।

ति विद्यालयमा कुल १ सय ४१ जना शिक्षकले अध्यापन गराउँदै आएका छन् । जसमा मावि तहका ८ जना, निमावि तहका २० जना र प्रावि तहका ५ जनासहित ३३ जना शिक्षकका सरूवा भएको नगर शिक्षा शाखाका प्रमुख रुद्र प्रसाद रेग्मीले बताउनुभयाे । उनीहरूको नगर क्षेत्रकै विद्यालयहरूमा सरूवा भएको छ। सरूवा भएकामा शिक्षकहरू एकै विद्यालयमा ३ वर्षदेखि २८ वर्षमा कार्यरत रहेका छन् ।

लामो समयसम्म एउटै विद्यालयमा बस्नु भन्दा अर्को विद्यालयमा जाँदा शैक्षिक सुधार हुने अपेक्षाले सरूवा गरिएको प्रमुख रेग्मीको भनाइ छ । रामग्राम नगरपालिका मेयर धनपत यादवले नियमानुसार सरूवा गरिएकाले विद्यार्थीहरूको मागलाई कार्यपालिकाको बैठक बसेर टुंगाउने बताउनुभएकाे छ ।

Share your love