युक्रेनका ४ वटा भू–भाग रुसमा गाभिएको पुटिनको घोषणा
पुटिनले चार वटा क्षेत्रमा बसोवास गर्ने मानिसहरूले रुसमा गाभिने चाहना व्यक्त गरेको भन्दै ती क्षेत्र रुसी महासङ्घको नयाँ क्षेत्र भएको दाबी गर्नुभयो । रुसी सेनाले ती क्षेत्रमा केही दिनअघि जनमत सङ्ग्रह गरेको बताएको थियो ।
रुसीले गरेको भनेको जनमत सङ्ग्रहलाई पश्चिमा देशहरूले भने भर्त्सना गर्दै कहिल्यै स्वीकार नगर्ने बताएका छन् । पुटिनले इतिहासमा पुस्तौँदेखि रुसीहरूले यो भू–भागका लागि लडेको दाबी पनि गर्नुभयो ।
कार्यक्रममा रुसले त्यस क्षेत्रमा नियुक्त गरेका चार जना अधिकारीहरूले विलयसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले सोभियत सङ्घलाई पुनर्स्थापित गर्न नखोजेको पनि बताउनुभयो ।
सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि युक्रेन देशको रूपमा उदाएको थियो । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई देशबीच सात महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।