३ वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाे थिएँ : मुख्य प्रशिक्षक भिन्सेन्जाे

नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रतिभावान् खेलाडीहरू समेट्दै राष्ट्रिय टोली बनाउने बताएका छन् ।

मङ्गलवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले चलिरहेको शहीद स्मारक ए डिभिजन लिग र विगतका खेलमा गरेको प्रदर्शनको आधारमा टाेली बनाउने बताएका हुन् । भिन्सेन्जोले प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र तीन वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाल आउन चाहेको समेत बताए । उनले भारतकाे आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेको र चलिरहेको ए डिभिजन लिगमा पनि आफूले सम्भावना बोकेका खेलाडी भेटेको बताए ।

यस्तै राष्ट्रिय टोलीका केही खेलाडीहरू विदेश गएको अवस्थामा कसरी टोली बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रशिक्षक भिन्सेन्जोले सम्पूर्णरूपमा नयाँ टाेली बनाउन नसकिने र एकै पटक धेरै नयाँ खेलाडीलाई मात्र समेटेर टाेली बनाउन कठिन हुने प्रतिक्रिया दिए । उनले विदेश गएका खेलाडीहरूसँग सम्पर्क गर्न प्रयास गर्नेसमेत बताए । प्रशिक्षक भिन्सेन्जोले नेपाल आउनुको लक्ष्य धेरैभन्दा धेरै खेलमा नेपाललाई सुखद नतिजा दिलाउने र नेपालले विगतमा हासिल गर्न नसकेको सफलता दिलाउँदै करियर सुधार गर्ने लक्ष्य रहेको बताए ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा पहिलो प्रतियाेगिताकाे रूपमा घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।

प्रशिक्षक भिन्सेन्जाेलाई एन्फाले मासिक तलबबाहेक खाने, बस्ने र आउने जाने व्यवस्था गरेको छ । प्रशिक्षकका लागि आवश्यक पर्ने बजेट अहिलेका लागि एन्फाको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको छ । भिन्सेन्जाेसँग एन्फाले एक वर्षका लागि सम्झाैता गरेकाे छ ।

 

Share your love