२ गाेलले पछि परेकाे सिटीले उत्कृष्ट पुनरागमन गर्दै टाेटेनहमलाई हरायाे

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटेनहम हट्सपुरलाई हराएको छ । आज बिहान सकिएको खेलमा सिटीले टोटेनहमलाई ४–२ गोलले हरायो । पहिलाे हाफमा दुई गाेलले पछि परेकाे सिटीले दाेस्राे हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन अङ्क जाेडेकाे हाे ।

टाेटेनहमका लागि डेजन कुलासेभाकीले खेलकाे ४४ औँ मिनेटमा गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । त्यसकाे केहीबेरमै पहिलाे हाफकाे इन्ज्युरी समयमा इमर्सन राेयलले गाेल गर्दै टाेटनहमलाई २–० काे अग्रता दिलाएका थिए । तर त्याे अग्रता धेरै बेर टिकेन । खेलकाे ५१ औँ मिनेटमा सिटीका जुलियन अलभारेजले गाेल गर्दै खेल २–१ काे अवस्थामा पुर्‍याए । त्यसकाे दुई मिनेटमै एर्लिङ हाल्यान्डले गाेल गर्दै खेल २–२ काे अवस्थामा पुर्‍याए । खेलकाे ६३ औँ र ९० औँ मिनेटमा रियाद महरेजले गाेल गर्दै सिटीलाई ४–२ गाेलले विजयी गराए ।

जितसँगै सिटीको १९ खेलमा ४२ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ । २० खेल खेलेकाे टाेटेनहम ३३ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । एक खेल कम खेलेको आर्सनल ४७ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ ।

 

Share your love