२४ किलो गाँजासहित पर्सा र रौतहटबाट तीन जना पक्राउ

प्रहरीले गाँजासहित पर्सा र रौतहटबाट तीन जनालाई पक्राउ गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकमा चेकजाँच गर्ने क्रममा विश्रामपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १३ प ६५९५ नम्बरको मोटरसाइकलबाट गाँजा बरामद भएको हो।

मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका–१६ फुलबारी टोल बस्ने इस्लाम मियाँको साथबाट १ किलो ८ सय ग्राम गाँजा बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

यस्तै, वीरगञ्ज महानगरपालिका–९ घण्टाघर तरकारी बजारनजिकै रहेको टेम्पु स्टेशनबाट पर्सा सखुवाप्रसौनी गाउँपालिका–८ जमुनिया बस्ने ध्रुव ठाकुरलाई ३किलो ५ सय ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ।

त्यसैगरि, पर्सा प्रहरीले वीरगञ्ज–१६ स्थित कवाड गोदाममा गाँजा खरिद बिक्री भैरहेको सूचनाको आधारमा खटिएको प्रहरीले गोदामभित्र लुकाइ राखिएको ६ किलो ८ सय ग्राम गाँजा बरामद गरेको छ। गोदाम सञ्चालक भारत विहारको पूर्वी चम्पारणका अरविन्द कुमार गुप्ता फरार रहेकोले उनको खोजतलास भइरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

यसैगरि, रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरमा चेकजाँच गर्ने क्रममा सोही स्थान बस्ने साने भन्ने सन्त तामाङलाई पनि प्रहरीले गाँजासहित पक्राउ गरेको छ।

उनको साथबाट १५ किलो गाँजा बरामद गरिएको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्। पक्राउ परेका उनलाई लागुऔषधसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहको उनले बताइन्। – देश सञ्चारबाट

Share your love