१० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दाेलन सुरु गर्ने बार एसाेसिएशनकाे चेतावनी

नेपाल बार एसाेसिएशनले सरकारलाई प्रधानन्यायाधीश नियुक्त गर्न १० दिनको अल्टिमेटम दिएको छ । बुधवार बार एसाेसिएशन परिसरमा पत्रकार सम्मेलन गरी बारले १० दिनभित्र सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त नगरे आन्दाेलन सुरु गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बार एसाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम प्रधानन्यायाधीशबाट सर्वोच्च अदालत सञ्चालन भएको नै एक वर्ष बढी बितिसकेको भन्दै अबको १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन सुरु गर्ने चेतावनी दिनुभयो । उहाँले कार्यपालिका र व्यवस्थापिकाले सर्वोच्च अदालतलगायत न्यायालयलाई नै हेपेको आरोप लगाउनुभयो । उहाँले न्यायपालिकाको विकृति, विसङ्गति, भ्रष्टाचारमुक्त बनाउने अभियानको फेहरिस्त दिनसमेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अब लगभग आन्दोलनको श्रेणीमा पुगेका छौँ । हामी ७ देखि १० दिन हेर्छाैँ । यसबीचमा समस्या समाधान भएन भने, अटोमेशन लागू गरेर पेसी व्यवस्थापन गर्नेतर्फ ध्यान गएन भने नेपाल बार एसाेसिएशनले उचित निर्णय लिन्छ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तत्काल प्राप्त गर्नुपर्छ भन्ने हाम्रो प्रथम माग हो ।’

पत्रकार सम्मेलनमा सर्वोच्च अदालत बार एसाेसिएशनका अध्यक्ष हरिशंकर निरौलाले कानुन बमोजिम अविलम्ब  प्रधानन्यायाधीश नियुक्त गर्न माग गर्नुभयो । उहाँले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति नगर्नु भनेको न्यायपालिकाको लागि शुभ लक्षण नभएको बताउनुभयो ।

अध्यक्ष निराैलाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको टुङ्गो चाँडो लगाउन पनि माग गर्नुभयो ।

 

Share your love