हेवा खोलामा ह्युम पाइपले पानीको बहाव थेगेन, गाडी आउजाउ अनिश्चित

मेची राजमार्गअन्तर्गत हेवा खोलामा डाइभर्सन निर्माण गर्न राखिएको ह्युम पाइपले पानीको बहाव थेग्न नसकेपछि गाडी आउजाउ अनिश्चित भएको छ ।

गएकाे असार ३ गतेको बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको ताप्लेजुङ र हेवाखोला पारि पाँचथरका तीन वटा पालिकाकाे गाडी आउजाउ अनिश्चित बनेको हो । आउजाउ सहज बनाउने गरी सडक डिभिजन कार्यालयले दुई दिनदेखि डाइभर्सन निर्माणको प्रयास भए पनि परिणाम आएको छैन ।

सोमवाररसम्ममा बाटो खुलाउने भन्दै सडक डिभिजन कार्यालयले एक्स्काभेटरको प्रयोग गरेर खोलामा ह्युम पाइप राखे पनि पानीको बहाव बढेपछि थेग्न नसकेको हो । छ वटामध्ये एउटा ह्युम पाइपले पानीको बहाव थेग्न नसके पनि निर्माणको काम भइरहेकाे सडक डिभिजन कार्यालय इलामका इन्जिनियर हरेराम रिमालले बताउनुभयो । बाढीले बगाएको ह्युम पाइप सोझ्याएर थप सामग्री झिकाएर कामलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।

बाटो खुल्ने सम्भावना नभएपछि यात्रुलाई सुरक्षित ठाउँमा जान भनिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले बताउनुभयो ।

 

Share your love