हावाहुरीले देशभरका प्रसारणलाइनमा क्षति, देशका अधिकांश स्थानमा छैन बिजुली

आइतबार रातिदेखि सुरु भएको हावाहुरीले देशभरका विद्युत् वितरणमा अवरोध सिर्जना गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार बेलुका र सोमबार बेलुका आएको हावाहुरीका कारण देशभरको वितरण प्रणालीमा अवरोध उत्पन्न भएको हो ।

आइतबार बेलुका अचानक हावाहुरीसहितको वर्षात भएको थियो । ‘देशभर आएको हावाहुरीसहितको वर्षातले राष्ट्रिय प्रसारणलाइनमा क्षति गरेको थियो,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘हिजो सोमबार दिनभरमा सबै राष्ट्रिय ग्रिडको समस्या समाधान भयो ।’

तर, हिजो सोमबार बेलुका पुनः आएको हावाहुरीका कारण देशैभरको वितरण प्रणालीमा समस्या आएको प्राधिकरणले जनाएको छ । ‘राष्ट्रिय प्रसारणलाइनको समस्या समाधान गरे पनि सोमबार बेलुका आएको हावाहुरीका कारणले पुनः समस्या निम्त्याएको छ,’ भट्टराई थप्छन्, ‘हिजो बेलुकाको हावाहुरीले क्षेत्रीय र साना वितरण लाइनमा समस्या निम्त्यायो ।’

वितरण प्रणालीमा नै हावाहुरीका कारण क्षति पुगेपछि सोमबार राती देशका अधिकांश स्थान बिजुली विहीन बनेका थिए । आइतबार राती राष्ट्रिय प्रसारणलाइनमा क्षति पुग्दा रोकिएको वितरण प्रणाली सोमबार बेलुका पुनः रोकियो । यद्यपि, यतिबेलासम्म देशभरको समस्या समाधानतर्फ उन्मुख भएको प्राधिकरणको भनाई छ ।

हाल क्षेत्रीय र स्थानीय प्रसारणलाइनमा समस्या आउँदा देशभरका अधिकांश स्थानमा लोडसेडिङ भइरहेको छ । काठमाडौँमा समेत सोमबार रातभर बिजुलीमा समस्या आएको थियो । देशका कति ठाउँका वितरण प्रणालीमा समस्या आएको भन्ने बारे आधिकारिक तथ्याङ्क भने नआइसकेको प्राधिकरणले बताएको छ ।

Share your love