स्वास्थ्य विज्ञान विश्वविद्यालय छिट्टाे सञ्चालन गर्न सुदूरपश्चिमवासीको माग

कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णयको सुदूरपश्चिम प्रदेशवासीले स्वागत गरेका छन् ।

तर साेही विश्वविद्यालय यथाशीघ्र सञ्चालन गर्न उनीहरुले माग समेत गरेका हुन् । गेटा मेडिकल कलेजको अस्पताल, शैक्षिक र प्रशासनिक भवन निर्माणको कार्य गत वर्ष नै पूरा भएको थियो। विद्युत, खानेपानी र फोहोरमैला व्यवस्थापन गर्न संरचना निर्माणको कार्य भइरहेको छ ।

सरकारको निर्णयमाथि विश्वास गर्न सकिने धेरै आधार नरहेकाले यथाशीघ्र विश्वविद्यालय सञ्चालन गर्न उनीहरुले माग गरेका हुन् । सुदूरपश्चिम प्रदेशवासीले सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज हुनु पर्ने माग गर्दै आएका थिए । प्रारुपको टुङ्गो लागेपछि चाँडै सञ्चालनमा आउनु पर्ने उनीहरुको जोड छ ।

त्यसका लागि संरचना बनेपछि विश्वविद्यालय वा प्रतिष्ठानको रुपमा सञ्चालन गर्नुपर्ने भन्दै उनीहरूले दवाव दिदै आएका छन् । केही साताअघि सरकारले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

नागरिकको निरन्तर दवाव र खबरदारीपछि सरकारले विश्वविद्यालय बनाउने निर्णय गरेको हो । मेडिकल विश्वविद्यालय सञ्चालनको काम छिटो अगाडि बढाउनुपर्ने दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. डम्मर पालले बताउनुभयो।

निर्माण कार्य लगभग अन्तिम चरणमा रहेपनि प्रारुपको टुङ्गो नलाग्दा सञ्चालनमा अन्योलता देखिएको छ । तर, सरकारको निर्णयले आशा पलाएको सञ्चालनको माग गर्दै आएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताउनुभयो ।

सरकारको निर्णयमाथि विश्वास गर्न सकिने धेरै आधार नरहेकाले यथाशीघ्र विश्वविद्यालय सञ्चालन गर्नुपर्ने सुदूरपश्चिम प्रदेशवासीले माग गरेका हुन् । गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले कैलालीको गोदावरी नगरपालिकामा विश्वविद्यालय सञ्चालन हुने घोषणाले खुशी लागेको र कार्यान्वयनका लागि दवाव दिने बताउनुभयो।

नेपाल सरकारको लगानीमा २०७४ सालबाट गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको थियो । हालसम्म साढे ५ अर्ब रुपैयाँ लागतमा पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पूजाराले बताउनुभयो।

गेटा मेडिकल कलेजको अस्पताल, शैक्षिक र प्रशासनिक भवन निर्माणको कार्य गत वर्ष नै पूरा भएको थियो । विद्युत, खानेपानी र फोहोरमैला व्यवस्थापन गर्न संरचना निर्माणको कार्य भइरहेको छ । अहिलेसम्म ९० प्रतिशत निर्माण कार्य पूरा भएको छ ।

Share your love