स्याङ्जा-२ विवाद : छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै

स्याङ्जा क्षेत्र नं २ को चुनाव सम्बन्धी विवादकाे छानबिनका लागि गठन गरिएकाे टोलीले आज निर्वाचन आयोग समक्ष प्रतिवेदन बुझाउने भएकाे छ ।

आयोगका सहसचिव फणिन्द्र गौतमकाे नेतृत्वमा गठन भएकाे छानबिन टोलीले आज (सोमवार) आयोग समक्ष प्रतिवेदन बुझाउन लागेको हो ।

टोली जिल्लामा आएर स्थलगत अवलोकन तथा सरोकारवालाहरुसँग छलफल गरेको थियो । टोलीले जिल्लाका सुरक्षा निकाय, प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनीतिक दल लगायतसँग छलफल  गरेको थियो । राजनीतिक दलसँग छुट्टाछुट्टै छलफल गरेको टोलीले मतदान अधिकृतहरुसँग पनि भेटेको थियो । ३ दिन भित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरिएको थियो ।

चापाकोट नगरपालिका वडा नम्बर ३,४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो ।

क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले निर्वाचन आयोगको निर्देशन कुरिरहेको जानकारी दिनुभयो । यस क्षेत्रबाट कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले सचिव पद्मा कुमारी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ लगायत प्रतिस्पर्धामा छन् ।

 

Share your love