स्याङ्जा-२ र बाजुरामा मतगणना गर्न आयोग समक्ष कांग्रेसको आग्रह

नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

मंगलबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गर्नुभएको हो ।

त्यस्तै, बाजुराको पनि मत गणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना सुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् । प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मत गणना कार्य सुरु गर्न आग्रह गरिएको बताउनुभयो ।

उहाँले स्याङ्जा २ मा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएको बताउनुभयो । निर्वाचनको समय अवधिभर कुनैपनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताउनुभयो । उहाँले बाजुरामा पनि तुरुन्त मत गणना गर्नुपर्ने बताउनुभयो ।

स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार रहनुभएका कांग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मत गणना सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले स्याङ्जा २ मा शान्तिपूर्ण रुपमा मतदान भएको बताउनुभयो ।

उहाँले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मत गणना गर्न निर्देशन दिने विश्वास व्यक्त गर्नुभयो ।

Share your love