सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

बिहीबार काठमाडौँमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन? भनि प्रश्नसमेत गरे। उनले सबै सञ्चार माध्यामहरुमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरु स्वतः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्रह गरे।

उनले भने, ‘अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यमको रुपमा स्थापित हुन खोज्दै छन्। यिनलाई कहाँ, कसले हेर्ने हो? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन? त्यो अर्को पाटो हो। तर यसलाई पनि अब समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन। एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमनको पनि कुरा गर्नुपर्छ।’

Share your love