सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी

खाना पकाउने ग्यास सिलिण्डर विस्फाेटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । कीर्तिपुर अस्पतालका डाक्टरको सिफारिस अनुसार सांसद भण्डारीलाई भारतको मुम्बईमा रहेको नेशनल बर्न अस्पताल लैजाने तयारी गरिएको उहाँका स्वकीय सचिव भुवन भुसालले जानकारी दिनुभयो ।

आमा हरिकलालाई भने आईसीयूबाट निकाल्न नमिल्ने भएकाले सांसद भण्डारीलाई मात्रै भारत लैजाने तयारी भएको छ । यसअघि भण्डारीले आफ्नो उपचार स्वदेशमै गर्न आग्रह गर्नु भएको थियो । तर, उपचार सम्भव नभएकाले भारत लैजाने तयारी भएको हो ।

कीर्तिपुर अस्पतालले बिहान विज्ञप्ति निकालेर दुवै जनाको स्वास्थ्य अवस्था जटिल रहेकाले देश बाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको थियो । अस्पतालको जलन उपचार विभागका प्रमुख डाक्टर किरण नकर्मीका अनुसार सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै गोडा गरी शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको छ ।

यस्तै, आमा हरिकलाको जिउको धेरैजसो भाग गरी ७० प्रतिशतसम्म जलेको छ । दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँले असर गरेको डाक्टर नकर्मीले बताउनुभयो । सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा अस्पताल पुग्नु भएको छ ।

यस्तै, अन्य नेता तथा शुभेच्छुकहरु पनि अस्पताल पुगेका छन् । गएराति आफ्नै घर काठमाण्डौको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँकी ८६ वर्षीया आमा हरिकला घाइते हुनुभएको हो । खाना खाएर सुतिसकेपछि ग्यास सिलिण्डर विस्फोट भएको भण्डारीका स्वकीय सचिव भुवन भुसालले बताउनुभएको छ ।

ग्यास लिक भएको अनुमान गरिए पनि विस्फोट के कारणले भयो भन्नेबारे खुलेको छैन । नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो ।

 

Share your love