सांसदहरूको शपथ नगराइ सरकार गठन गर्नु उल्टो बाटो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरूको शपथ ग्रहणअघि नै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताउनुभएको छ ।

आज आइतवार पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका सबै सदस्यको शपथ ग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको हो । निर्वाचित सांसदहरूको शपथ ग्रहणविना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै उहाँले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष प्रचण्डले सांसदहरूको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिर जस्तो बन्न गएको उल्लेख गर्दै त्यसो गर्नु गलत हुने दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले यसअघि पनि संसदीय दलको बैठकपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाइने बताउँदै आउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार एक हप्ताकाे समय दिएर सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएकाे छ ।

 

Share your love