सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा निगम

नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेकाे छ । आज मङ्गलवार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औँ वार्षिक साधारणसभामा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले याे जानकारी दिनुभएकाे हाे ।

कार्यकारी निर्देशक थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न समय लागेको बताउनुभयो । सर्वसाधारणकाे समेत स्वामित्व हुने गरी निगमले आईपीओ जारी गर्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सर्वसाधारणका लागि आईपीओ जारी गर्न निगम प्रतिबद्ध छ । कम्तीमा दुई वटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले समय लागेकाे हाे । सधैँभर नेपाल आयल निगमलाई गाली गरेर हुँदैन । सबैले स्वामित्व लिनका लागि पनि आईपीओ जारी गर्नुपर्छ ।’

कार्यकारी निर्देशक थानीले ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताउनुभयो । उहाँले  सरकारले व्यवसायीहरूका माग समयसापेक्ष रूपमा चाँडै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयाे । देशकाे अर्थतन्त्रमा टेवा पुर्‍याउने हिसाबले निगमले विसं २०८० असार ३१ गतेदेखि पेट्राेलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको बताउनुभयो । स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भए पनि नाफामा रहने उहाँकाे भनाइ छ ।

कार्यक्रमम नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कुलप्रसाद मल्लीले डिजल, पेट्रोलको जस्तै एलपी ग्यासको पनि स्वचालित मूल्य लागू गर्न माग गर्नुभयो । उहाँले एलपी ग्यासको मूल्य अचानक बढ्दा व्यवसायीहरूलाई समस्या भइरहेको बताउनुभयो । व्यवसायमा लागतअनुसारको मुनाफा आवश्यक हुने भन्दै उहाँले आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्यास उद्योगले विभिन्न समस्या भोग्नुपरेको गुनासाे गर्नुभयाे ।

 

Share your love