सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा युवकको मृत्यु, ५ जना गम्भीर घाइते

सर्लाहीको हरिवन र बागमतीमा भएका दुई सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

शनिबार साँझ हरिवन नगरपालिका १ भोक्टेनीमा ज १ च १७१९ नम्बरको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको ना ५३ प ९७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने दुई किशोर गम्भीर घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका हरिवन नगरपालिका ८ डाँडाटोल निवासी २२ वर्षीय नवीन राईको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

राईको गएराति वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका गिरिराज रानाका छोरा १८ वर्षीय साहिल राना र एकराज घिमिरेका छोरा विज्ञान घिमिरे गम्भीर घाइते भएका छन्।

घाइते तीनै जनालाई उपचारका लागि सुरुमा हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि साँझै वीरगन्ज लगिएको थियो।

घाइते दुवै किशोरको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बोलेरो चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित पूर्वपश्चिम राजमार्गमा शनिबार दिउँसो कारले मोटरसाइकलाई ठक्कर दिँदा तीन युवक गम्भीर घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ च ३९६० नम्बरको कारले सोही दिशामा गुडिरहेको बा ८९ प ५९९६ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००२२ प ७९९५ नम्बरको स्कुटरलाई एकसाथ ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा प्रदेश २–०३–०२२प ७९९५३ नम्बरको स्कुटर चालक हरिवन नगरपालिका ८ का ३७ वर्षीय धनबहादुर गोले, स्कुटरको पछाडि सवार सोही ठाउँका भीम लामा र बा. ८९ प ५९९६ नम्बरको मोटरसाइकलका चालक बागमती नगरपालिका १ का ३० वर्षीय सुकमान तामाङ गम्भीर घाइते भएका छन्।

घाइतेमध्ये गोले र लामालाई हेलिकप्टरमार्फत उपचारका लागि शनिबार दिउँसो काठमाडौँ लगिएको छ भने तामाङको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

तीनवटै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर मुकेश ताम्राकारले जानकारी दिए। कार चालक भने फरार छन्। उनको खोजी भइरहेको ताम्राकारले बताए।

Share your love