सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ‘२० वर्षपारि विवाहवारि’ कार्यक्रम सुरु

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले २० वर्षपारि विवाहवारि कार्यक्रम सुरु गरेको छ ।

बालविवाह अन्त्य गर्ने तथा छोरी शिक्षामा पहुँच पुर्याउने उद्देश्यले यो अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो । गाउँपालिकाले माध्यमिक शिक्षा कक्षा १२ उत्तीर्ण गरेका छोरीलाई प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँ नगद दिने आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

अभियान अन्तर्गत अध्यक्ष महतोले कक्षा १२ उत्तीर्ण गरेकी २२ वर्षीया रेणु सिंहलाई प्रोत्साहनका लागि विवाहस्थलमा पुगेर ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । रेणु सिंहले गाउँकै दुर्गा खोभारी माध्यमिक विद्यालय बबरगञ्जबाट कक्षा १२ उत्तीर्ण गर्नुभएको हो ।

बालविवाह अन्त्य गर्न र छोरी  शिक्षालाई  निरन्तरता दिन गाउँपालिकामा यो कार्यक्रम सुरु गरिएको अध्यक्ष महतोले बताउनुभयो । त्यसैगरी पालिकाले छात्रालाई उच्च शिक्षा अध्ययनका लागि पनि नगद ११ हजार रुपैयाँ  दिने  निर्णय गरेको छ ।

Share your love