‘सरकारले उद्योगीको इशारामा उखुको मूल्य तोक्यो’

सरकारले उद्योगीको इशारामा उखुको मूल्य तोकेको आरोप किसानहरूले लगाएका छैन्।
यसपालि सरकारले उखुको मूल्य प्रति क्विन्टल ६ सय १० रुपैयाँ तोकेको छ। तर, उखु किसान भने सरकारले तोकेको मूल्यबाट खुसी छैनन्।

समयमै तोक्नुपर्ने उखुको मूल्य ढिलो गरी तोक्नु र यसपालि झन् सुक्ने डरले शून्य मूल्यमै चिनी मिललाई उखु बिक्री गरिसकेपछि पनि किसानले चाहेअनुसार मूल्य नदिएको पकहा मैनपुर गाउँपालिकाका उखु किसान दिनानाथ साहले बताए।

उनले कम्तीमा पनि ७ सय रुपैयाँ तोक्नुपर्नेमा ६ सय १० रुपैयाँ निर्धारण गरिदिएको भन्दै आपत्ति जनाए। ‘सरकारले तोकेको मूल्यमा हामी अलिकति पनि खुसी छैनौँ, उखु खेतीमा लागत बढ्दै छ, मलखाद औषधिलगायतमा मूल्य बढ्दै गएको छ, त्यही पनि समयमा पाइँदैन,’ उनले भने, ‘अनि आफूखुसी सरकारले मूल्य तोकिदिन्छ हामले घाटा सहनुपर्छ।’

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ९० तोकेको थियो। यस वर्ष भने प्रतिक्विन्टल जम्मा २० रुपैयाँ थपेर सरकारले उखुको मूल्य निर्धारण गरेको छ।

गत वर्षको भन्दा उखुको कटानीदेखि लिएर ढुवानीसम्मको भाडा बढेको अनुपातमा २० रुपैयाँ मात्र प्रति क्विन्टलमा बढाउनुले आफूसहित सम्पूर्ण उखु किसान घाटामा जाने वीरगञ्ज महानगरपालिका–३० का उखु किसान सफिउल्लाह अन्सारीले गुनासो गरे।

उनले धान, गहुँ गरी दुई बाली छाडेर उखु खेती गरे पनि सरकार किसानको हितमा मूल्य नतोकी उद्योगीको इशारामा चलेको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले बताए।

उनले उखु किसानको कुरा सुन्नुपर्नेमा सरकारले उद्योगीको हितलाई ध्यानमा राख्दै गत वर्षभन्दा यस वर्ष जम्मा २० रुपैयाँ थपेर उखुको मूल्य निर्धारण गरेको आरोप लगाए।

‘यो सरकारले आफैँ त चिनी मिल चलाउन सक्दैन, उद्योगीको हातमा किसानको उखु दिएको छ, अब किसानको हकमा किन काम गरोस् सरकारले,’ उनले भने, उद्योगीको कुरामा लागेर उनीहरूको हितमा मूल्य तोकेको छ, यो किसानको ज्यानमारा सरकार हो।’

सरकारले तोकेको उखुको मूल्यलाई लिएर उखु किसान संघले समेत आपत्ति जनाएको छ। आफूहरूले सरकारसित यस वर्ष प्रतिक्विन्टल उखुको मूल्य ७ सय रुपैयाँ तोक्न माग पहिले नै राखे पनि त्यसलाई बेवास्ता गरी सोभन्दा कम मूल्य तोकिएको उखु किसान संघ पर्साका अध्यक्ष असर्फी साहले बताए। उनले संघले जति भन्दा पनि सरकारले नसुन्ने गरेको गुनासो गर्दै जे भए पनि सहनुपर्ने उखु किसानको बाध्यता भएको बताए।

Share your love