सरकारका वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित छैनन् : प्रा.डा. वाग्ले

अर्थविद् एवम् काठमाण्डाै विश्वविद्यालयका प्राध्यापक डाक्टर अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित नभएको बताउनुभएको छ ।

मङ्गलवार काठमाण्डाै विश्वविद्यालय र विश्व व्यापार सङ्गठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रा. डा. वाग्लेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले बनाउने वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलनको उद्देश्य रहेको बताउनुभयो ।

प्रा. डा. वाग्लेले नेपालमा उत्पादन भएका वस्तुहरू विदेशमा निर्यात गर्नका लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेकोमा जाेड दिनुभयाे । तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशमा कति वस्तुकाे निर्यात सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी नहुने बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘नेपालमा जति पनि वाणिज्य दिगोपनका लागि नीतिहरू बनिरहेका छन्, त्यस्ता नीतिहरू तथ्य तथ्याङ्कमा आधारित छैन । त्यस्ता नीतिलाई परिवर्तन नगरि नेपालमा उत्पादन भएर निर्यात हुनसक्ने वस्तुको सम्भाव्यता के हुन्, कुन आकारमा निर्यात हुन्छ भन्ने थाहा हुँदैन । यस सम्मेलनमा अहिलेसम्म सरकारले बनाएका नीतिहरू के भएर फेल भए भन्नेबारेमा भारत र नेपालमा गरिएको कार्यपत्र प्रस्तुत हुन्छ ।।

प्रा. डा. वाग्लेले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण रहेको बताउनुभयो ।

सम्मेलन मङ्गलवार र बुधवार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा भारत र पोल्यान्डका प्राध्यापकहरूकाे सहभागिता रहेको छ भने भारतबाट पूर्व वाणिज्य सचिव अनुप वाधवानको समेत सहभागिता छ ।

 

Share your love