समयमै उपचार नपाउँदा बारामा दुर्लभ पाटे बाघको ज्यान गयो

समयमै उपचार नपाउँदा बारामा दुर्लभ पाटे बाघको ज्यान गएको छ । काठमाडौ–तराई–मधेश द्रुत मार्गको जिरो किलोमिटर ९निजगढ० क्षेत्रमा सेनाको ब्यारेक नजिकै घाइते अवस्थामा भेटिएको पाटे बाघको समयमै उपचार नपाउँदा ज्यान गएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले दिउँसो ४ बजेतिर फास्ट ट्रयाकको जिरो किलोमिटर क्षेत्रमा घाइते अवस्थामा भेटिएको भाले प्रजातीको पाटे बाघ साँझपख मृत भेटिएको बताए । मृत बाघ करिव १४ वर्षको भएको निकुञ्जले जनाएको छ ।

‘घाइते बाघ साहाराको खोजीमा फास्ट ट्रयाक नजिकै रहेको सेनाको ब्यारेकभित्र छिरेछ, र बाघ छिरेपछि उहाँहरुले पनि डराएर समयमै जानकारी गराउनुभएन पछि साँझ बाघ मरेपछि मात्रै हामीलाई खबर आयो’ प्रमुख संरक्षण अधिकृत अशोकरामले भने– ‘समयमै उपचार पाएको भए बाघ बाँच्न पनि सक्थ्यो होला ।’

शरीरभर घाउचोट भेटिएको बाघलाई सवारी साधनले ठक्कर दिएको हो या आपसी लडाइका कारण घाइते भएको भन्ने विषयमा पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने निकुञ्जले जनाएको छ । हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा दुर्लभ पाटे बाघ रहेका छन् । साउन १३ गते विश्व बाघ दिवसको अवसर पारेर सरकारले सार्वजनिक गरेको तथ्यांकमा पर्सा राष्ट्रिय निकुञ्ज बाघको संख्या वृद्धिदरमा देश भरमै उत्कृष्ट देखिएको थियो ।

सन् २०१८ मा गरिएको सर्वेक्षण तथ्यांकमा १८ वटा बाघ रहेको यसपटकको गणनामा बढेर ४१ पुगेको छ । पछिल्लो समय बाघको संख्या वृद्धि दरसँगै बासस्थानको प्रवन्ध नभए भविष्यमा वन्यजन्तु र मानवबीच द्धन्द्ध बढ्न सक्ने निकुञ्जले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गसँग जोडिएको पर्सा निकुञ्जमा वर्षेनी सडक दुर्घटना वा अन्य कारणले बाघको ज्यान जाने गरेको छ । गतवर्ष पनि पथलैया –अम्लेखगञ्ज सडकखण्डमा एउटा वयस्क भाले बाघको दुर्घटनामा ज्यान गएको थियो । पर्सा निकुञ्ज मधेश प्रदेशकै एकमात्र निकुञ्ज हो ।

Share your love