सप्तरीमा टिपरकाे ठक्करबाट विद्यार्थीकाे ज्यान गएपछि अवस्था तनावपूर्ण

सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक विद्यार्थीकाे ज्यान गएपछि अवस्था तनावपूर्ण बनेकाे छ ।

आज मङ्गलवार बिहान रुपनी गाउँपालिका १ का शंकर यादवकाे १२ वर्षीया छाेरी रिताकुमारीलाई ना १ ख ८५४२ नम्बरको टिपरले ठक्कर दिँदा ज्यान गएपछि अवस्था तनावपूर्ण बनेकाे हाे ।

मृतकका आफन्त, स्थानीयवासी र विद्यार्थीले पूर्व–पश्चिम राजमार्गको रूपनीमा सडक बन्द गरेका छन् । मृतक रिताकुमारी कन्छु नर प्रताप उच्च मावि रायपुरमा कक्षा ६ मा अध्ययनरत थिइन् ।

राजमार्गमा नै किशोरीको शव राखेर आफन्त र विद्यार्थीले सडक बन्द गरेपछि भिडलाई तितरबितर पार्न र स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास, हवाई फायर र रबरको गोलीसमेत चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्ग र राजविराजका केही सडक खण्ड बन्द हुँदा गाडी बाटाेमै राेकिँदा यात्रु अलपत्र परेका छन् ।

Share your love