सन् २०२४ काे जनवरीदेखि पाइपलाइनबाट पेट्रोल ल्याउन भर्टिकल ट्यांक निर्माण सुरु

नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण सुरु गरेको छ । निगमको मधेस प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गएको मङ्सिर २९ गते शिलान्यास गरी निर्माण कार्य सुरु भएको हो ।

निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ । मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भए पनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो ।

अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांकहरुको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको सुरुवात गरिएको बताउनु भयो । उहाँले दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको बताउनु भयो ।

उहाँले दुई वटा पेट्रोल ट्यांकमध्ये निगम र आईओसीले १/१ वटा ट्यांकको लागत व्यहोर्ने जानकारी दिनुभयो । प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने बताउनु भयो ।

उहाँले निगमले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरिएको बताउनु भयो । निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने पनि उहाँले बताउनु भयो ।

उहाँले निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको बताउनु भयो । त्यस्तै भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्नीकल खर्चमा मासिक रुपमा निगमलाई १५ करोड रुपैयाँ बचत हुने बताउनु भयो ।

उहाँले अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्चमा वार्षिक रुपमा करिब २ अर्ब रुपैयाँ वचत भएको बताउनु भयो । उहाँले दोस्रो चरणको भर्टिकल ट्यांकहरु निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अंग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने बताउनु भयो ।

प्रमुख यादवले दोस्रो चरणमा ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, २ सय ५० किलोलिटर क्षमताका २ वटा ट्रान्समिक्स ट्यांक, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने बताउनु भयो । उहाँले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माण समेत  हुने बताउनु भयो ।

 

 

Share your love