क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि जिल्ला अदालत काठमाडौँमा अन्तिम सुनुवाइ हुने भएको छ ।

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप विरुद्धको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

सर्वोच्च अदालतले गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीप विरुद्धको मुद्दा किनारा लगाउन दिएको आदेशअनुसार आजदेखि सो मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका सन्दीपविरुद्ध भदौ २१ गते जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी परेको थियो ।

प्रहरीमा जाहेरी दर्ता हुँदा क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीप असोज २० गते नेपाल फर्किँदै गर्दा विमानस्थलबाटै पक्राउ परेका थिए ।

काठमाडौँ जिल्ला अदालतले कात्तिक १८ गते मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

सो आदेशविरुद्ध उच्चमा पुनरावेदन दिएका सन्दीपको मुद्दामा उच्चले विदेश जान नपाउने, काठमाडौँ उपत्यका छाड्न परे प्रहरीलाई खबर गर्नुपर्ने लगायतको सर्त राखेर पुस १८ गते २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गरेको थियो ।

उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने र सन्दीपले क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित फागुन १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

दुवै पक्षको निवेदनमाथि एकसाथ सुनुवाई गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गरी सन्दीपलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिनुका साथै चाँडो मुद्दा किनारा लगाउन समेत आदेश दिएको थियो ।