सन्दीपको मुद्दामा सर्वोच्चको आदेश नै किन हुँदै छ निष्प्रभावी?

गत १५ फागुनमा सर्वोच्च अदालतले राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अबलम्बन गरी छिटोो कारबाही किनारा गर्नू भनी दिएको आदेशको करिब तीन महिना पूरा हुँदा पनि मुद्दाले किनारा पाउन सकेको छैनन्।

अदालतमा पेशीको म्याद निरन्तर हुँदै आए पनि विभिन्न कारणले सुनुवाइ प्रभावित हुँदा एकातिर सर्वोच्चको आदेश निष्प्रभावी बनेको छ भने अर्कोतर्फ पीडित भनिएकी किशोरी तथा आरोप लागेका सन्दीप लामिछाने दुबैका लागि यो मुद्दा थप मानसिक पीडाका रूपमा कायम छ।

नेपालका अब महत्त्वपूर्ण खेलहरू हुँदै छन्। केही दिनमा नै दक्षिण अफ्रिका भ्रमणमा नेपाली टिम निस्किँदै छ। त्यतैबाट नेपाल विश्वकप छनोटका लागि जिम्बावे पुग्ने कार्यतालिका रहेको छ।

तर अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुँदा सन्दीप बीचबीचमा तारिखका लागि अदालत उपस्थित हुनु पर्ने बाध्यात्मक परिस्थिति बन्दा व्यावहारिक रूपमा समेत कठिन बन्दै गएको छ। जसले गर्दा सिंगो क्रिकेट टिमलाई पनि असर पर्नसक्ने सम्भावना विद्यमान छ।

विश्वकप छनोट भएकाले सन्दीप आफैं पनि मानसिक दबाबमा गुज्रिनुपर्ने अवस्था अन्त गर्नुपर्ने क्यान प्रवक्ता तथा कार्यवाहक सचिव दुर्गाराज पाठक बताउँछन्।

‘अदालती प्रक्रिया चाँडो टुंगिएदेखि टिमले सोही अनुसारकै तयारी गर्थ्यो। सन्दीप पनि अदालती प्रक्रिया लम्बिँदा मानसिक रूपमा नै डिस्टर्ब भइराखेको छन् छ’, उनले भने।

के छ सर्वोच्चको आदेशमा?

सर्वोच्च अदालतले १५ फागुनमा सन्दीपले विदेश जान पाउनुपर्ने माग राख्दै सर्वोच्चमा गरेको निवेदनको सुनुवाइ गर्दै न्यायाधीशहरूले उनलाई विदेश जान अनुमति दिएका थिए। सर्वोच्चले पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान नदिने गरेको आदेश बदर गर्दै चाँडो मुद्दा किनारा लगाउन जिल्ला अदालतलाई समेत निर्देशन दिएको थियो।

सर्वोच्चको आदेश:

‘लामिछानेलाई विदेश जान रोक लगाउने गरी उच्च अदालत पाटनले प्रकरण नं. २१ को खण्ड (क) मा वर्णित मिति २०७९।९।२८ मा भएको आदेश मिलेको नदेखिँदा सो हदसम्म बदर गरिदिएको छ। हाल निज प्रतिवादीलाई तत्कालै क्रिकेटको विश्वकप छनौटको प्रतिस्पर्धामा जानु परेको भन्ने निवेदनको जिकिर रहेकोमा अब निज प्रतिवादी सन्दिप लामिछानेलाई विदेशमा सहभागी हुनुपर्ने विश्वकप क्रिकेट खेलमा विदेश जान दिनु दिलाउनु एवम् निजको राहदानी रोक्का भएको भए फुकुवा गरिदिनु भनी सम्बन्धित निकायमा लेखी पठाउनु र निज प्रतिवादी सन्दिप लामिछाने नेपालको तर्फबाट सहभागी भई विदेशमा क्रिकेट खेल समाप्त भई १५ (पन्ध्र) दिन भित्र सम्बन्धित मुद्दा हेर्ने अदालतमा स्रेस्तेदार सामु उपस्थित भई स्वदेश फर्किएको लिखित जानकारी दिनु दिलाउनु तथा यस पछि पनि अन्तराष्ट्रिय क्रिकेटमा भाग लिन विदेशमा जाँदा जानुअघी सोको लिखित जानकारी मुद्दा रहेको अदालतको स्रेस्तेदारलाई गराई फर्कि आएको १५ दिन भित्र फर्केको जानकारी समेत गराउनु। यस शर्तको उल्लंघन गरेमा उक्त सुविधा फिर्ता लिने भन्ने व्यहोराको जानकारी निज प्रतिवादी सन्दिप लामिछानेलाई गराउनू। प्रस्तुत मुद्दा जवरजस्ती करणीको अभियोग जस्तो गम्भिर प्रकृतिको महिला विरुद्ध हिंसासँग जोडिएको विषय पनि रहेको र प्रस्तुत मुद्दा सार्वजनिक चासोको विषयसमेत भएकोले शिघ्र सुनुवाई (fast track) तथा निरन्तर सुनुवाई (continuous hearing) का प्रकृया अवलम्बन गरी छिटो कारवाही किनारा गर्नू भनी काठमाठौं जिल्ला अदालतलाई जानकारी दिई नियमानुसार गर्नू। मुद्दाको दौरान जाहेरवालाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले पीडित मानसिक पीडामा समेत रहेको र कानुन व्यवसायी स्वयंले उपचार गराई रहेको भनिएबाट तत्कालै निज पीडितको लागि आवश्यक मानसिक शाररिक स्वास्थ्य उपचारको खर्च पीडित राहत कोषबाट अन्तरिम क्षतिपूर्तिको रूपमा उपलब्ध गर्नु गराउनु भनी काठमाडौ जिल्ला अदालतलाई लेखि पठाउनू।’

किन लम्बिँदै छ मुद्दा?

पटक-पटक पेशीमा चढ्दै विभिन्न कारणले फाइनल चरणको बहस रोकिँदै आएको छ। मुद्दामा निरन्तर बहस हुन सकेको छैन। सर्वोच्चले निरन्तर सुनुवाइ गरेर मुद्दा किनारा लगाउन भने पनि एकपटक मात्र फाइनल चरणको बहस भए पनि समय नपुगेको भन्दै न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेनन्।

गत १९ वैशाखमा मुद्दाको पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको थियो। जहाँ सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए। न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिनुपर्ने आमचलन रहँदै आए पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइनेमा राखेपछि पुन: फाइनल चरणको बहस भएको छैन।

त्यसपछि अदालतले २४ गतेका लागि पेशी तोकेको थियो। जसमा जाहेरी पक्षले क्षतिपूर्तीका लागि अर्को निवेदन हालेपछि पुन: अन्तिम चरणको बहस रोकियो। निरन्तर सुनुवाइ हुन नसक्दा दुबै पक्षलाई समस्या भएको बताउँछन्- सन्दीपका कानुन व्यवसायि सरोज कृष्ण घिमिरे।

‘सर्वोच्चले निरन्तर सुनुवाइ गरेर मुद्दाको किनारा लगाउन आदेश दिएको थियो। तर पटक-पटक वहस हुन नसकिरहँदा यसले दुबै पक्षको समय साथमा उनीहरूको पीडालाई समेत लम्ब्याएको छ’, उनले भने।

वकिल घिमिरेले आफूहरूले अदालतसमक्ष अनुरोध मात्र गर्न सक्ने बताए। उनले भने, ‘हामीले मुद्दा चाँडो टुंगिनुपर्‍यो भनेर अदालतसमक्ष अनुरोध गर्ने हो, बाँकी त अदालतले नै यसमा निर्णय गर्छ।’

उनले पछिल्लो समय सन्दीपसमेत मानसिक रूपमा थकित भएको बताए। घिमिरेले भने, ‘सन्दीप आफूलाई मानसिक रूपमा पीडा दिने उद्देश्यले निरन्तर अवरोध भएको त होइन भन्ने अवस्थामा पुगेका छन्। उनले कानुनअनुसार चाँडो न्यायिक प्रक्रिया टुंग्याइदिन आग्रह गर्ने गरेका छन्।’

अदालती प्रक्रिया लम्बिँदा सन्दीप विश्वकप छनोट नै अन्योलमा

सर्वोच्चले विदेश जान खुल्ला गरे पनि अहिले अदालतमा फास्ट ट्र्याकबाट तारिखहरू तोकिने गरेको छ।

मुद्दाको सुनवाइ नभए पनि तारिख लिनका लागि स्वंय उपस्थित हुनुपर्ने भएकाले सन्दीपका लागि विदेश यात्रा तत्काललाई कठिन छ। किनकि सन्दीप आफैंले फाइनल बहसका लागि तारिख बुझ्नुपर्छ। यदि तारिख गुज्रिएमा अदालतले उनी भागेको भन्न सक्ने आधार तयार हुन सक्ने सन्दीपका वकिल घिमिरे बताउँछन्।

उनी भन्छन्, ‘तारिख बुझ्नका लागि स्वंय व्यक्ति उपस्थित हुनुपर्छ वारेसमार्फत् मिल्दैन। जसले गर्दा फाइनल बहसका लागि तोकिने तारिखमा आफैं उपस्थित हुनु पर्ने भएकाले सन्दीपका लागि अन्तर्राष्ट्रिय खेलहरूमा सहज रूपमा खेल्ने अवस्था तत्काल सिर्जना हुन सकेको छैन। यस्तो अवस्थामा एक डेढ महिना लामो विदेश यात्रामा निस्किँदा तारिख गुज्रिने जोखिम बढ्छ।’

पछिल्लो समय तोकिएका तारिख हेर्ने हो भने निरन्तर हुँदै आएका छन्। १९ वैशाख त्यसपछि २४ वैशाख र अब ७ जेठमा पेशी रहेको छ। यी सबै तारिख आफैं उपस्थित भएर बुझेका थिए। र अनिवार्य आफैं उपस्थित हुनुपर्ने प्रावधान रहेको कानुन व्यवसायी घिमिरे बताउँछन्।

त्यसो त मुद्दाको किनारा नलाग्दा व्यक्तिगत रूपमा समेत सन्दीपले धेरै अन्तर्राष्ट्रिय फ्रेन्चाइजको अवसर गुमाइसकेका छन्। उनले यो बीचमा ४२ देखि ४५ वटासम्म खेल गुमाएको घिमिरे बताउँछन्।

‘सन्दीपले यो मुद्दा सुरु भएयता ४२ देखि ४५ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेलहरू गुमाएको छ। जसबाट उसले आर्थिक रूपमा समेत ५-७ करोड गुमाइसकेको छ। यदि ऊ दोषी हो भने जेलमा जान्छ र निर्दोष हो भने खेलमा जान पाउनु पर्छ।’

सन्दीपबिना नै जिम्बावे जान्छ राष्ट्रिय टिम?

अदालतको प्रक्रिया लम्बिँदा विश्वकप छनोटमा सन्दीपबिना नै राष्ट्रिय टिम जिम्बावे जान्छ भन्ने देश सञ्चारको प्रश्नमा क्यान कार्यवाहक सचिव पाठक भन्छन्, ‘हामीले अहिले सन्दीपबिनाको टिमको परिकल्पना गरेका छैनौँ।’

उनले पछिल्लो समय नेपालका लागि गरेको योगदानलाई नै आधार मान्दा पनि उनी टिमका लागि सर्वाधिक महत्त्वपूर्ण खेलाडी हुन्।

‘हामी चाहन्छौँ कि अदालतले चाँडो यो प्रक्रिया टुंग्याओस्’, उनले भने।

सचिव पाठकले बीचबीचमा तारिखका लागि सन्दीप आइरहनु पर्ने अवस्था सिर्जना नहुने विश्वास क्यानलाई रहेको बताए।

उनले भने, ‘हामीलाई अदालतप्रति विश्वास छ। अब प्रक्रिया चाँडो टुंगिएर निकास पाउने छ। व्यावाहारिक रू‍पमा पनि दक्षिण अफ्रिका र जिम्बावेबाट नेपाल आऊ-जाऊ गरिरहन सहज हुन्न।’

राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले पनि सन्दीप टिमको महत्त्वपूर्ण खेलाडी भएको भन्दै उनीबाहेकको टिमको परिकल्पना अहिले नगरेको बताए।

उनले नेपालका हरेक अन्तर्राष्ट्रिय खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेको भन्दै विश्वकप छनोटमा उनको प्रदर्शन झनै अत्यावश्यक भएको पनि बताए।-देश सञ्चार बाट

Share your love