संसद् विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः ओली

नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।

मंगलबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका हुन्।

उनले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताए। उनले तत्कालीन समयमा आफूहरुलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद् विघटन गरिदिएर सो डोरी छिनाल्दिएको बताए।

उनले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरुले संगठन विस्तार र सुदृढ गरेर मजबुद र प्रमुख पार्टीको रुपमा पुनःस्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताए।

उनले प्रतिनिधि सभा विघटन त्यसबेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे।

उनले भने, ‘हामीले पुष ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्‍यौँ। विघटन गर्‍यौँ। हामीले ठीक ठानेर गर्‍यौँ। ठीक भनेर गर्‍यौँ। ठीक थियो र गर्‍यौँ। नगरी नहुने थियो र गर्‍यौँ। विल्कुलै समसामयिक कदम चाल्यौँ। होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो।’

Share your love