संसद् बैठक तीन घण्टा ढिलो सुरु, बजेट निर्माणमा बिचौलियाको प्रवेश भएको भन्दै सांसदहरुको आपत्ति

प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर केही निश्चित व्यापारिक समूहको स्वार्थ पूरा भएको र राज्यलाई अर्बौँ रुपैयाँ घाटा लगाएको भन्दै एमालेले बैठक बस्न नदिने अडान लिएपछि बैठक ढिला सुरु भएको हो ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सभामुखबीच लामो छलफल भएपछि बैठक सुरु भएको हो । बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएर संसद् र नागरिकलाई लाजमर्दो बनाएको  र देशलाई अर्बौँ रुपैयाँ घाटा भएको भन्दै आपत्ति जनाउनुभयो ।

गिरीले पोहोर पनि बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति प्रवेश भएको र यो वर्ष पनि त्यस्तै क्रियाकलाप भएको भन्दै अर्थमन्त्रीबाट स्पष्ट जवाफ आउनुपर्ने र चित्तबुझ्दो जवाफ नआएमा संसद् चल्न नदिने चेतावनी दिनुभयो । उहाँले संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद  डाक्टर स्वर्णीम वाग्लेले नेपालमा विधि पुर्याएजस्तो गरेर र कानुन पालना गरेजस्तो गरेर अख्तियारले समेत समाउन नसक्ने गरी सेटिङमा हुने भ्रष्टाचारको माहामारीले देशलाई खोक्रो बनाउन थालेको बताउनुभयो ।

उहाँले बजेट निर्माण अघि नै आफूहरुले अर्थमन्त्रीलाई सचेत गराए पनि बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएको खबर आएको भन्दै यसबारे जवाफ माग्नुभयो ।

तर, नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भने गएको वर्षको फागुनमा सरकारले नै भन्सार विभागका अवकाश प्राप्त नायब सुब्बा रामकृष्ण श्रेष्ठलाई नियुक्त गरेको र अहिले उनैलाई नै बजेट निर्माणमा सहभागी गराएको बताउनुभयो ।

सरकारले नै नियुक्त गरेको व्यक्तिलाई बजेटको टाइपमा राख्नु कसरी भ्रष्टाचार भयो भनेर प्रश्न सोध्नुभयो ।

 

Share your love